आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आजको संकटबाट बाहिर निस्कन पार्टी एक भएर अघि बढ्नुको विकल्प छैनः खतिवडा

आजको संकटबाट बाहिर निस्कन पार्टी एक भएर अघि बढ्नुको विकल्प छैनः खतिवडा

 

ओखलढुंगा । जेनजी आन्दोलनपश्चात पहिलोपटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा जिल्लामा देखिएका छन्। शनिबार दिवंगत नेता तथा प्रजातन्त्र सेनानी बलबहादुर राई र पूर्वराज्यमन्त्री गोपाल राईको निवासमा आयोजित कार्यक्रममा उनले स्थानीय नेता, कार्यकर्ता र युवासँग भेटघाट गर्दै पार्टी र मुलुकको वर्तमान अवस्थाबारे धारणा राखे।

राणा शासनदेखि राजतन्त्रको अन्त्यसम्म, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि लोकतान्त्रिक व्यवस्था कायम गर्नेसम्म कांग्रेसको योगदान स्मरण गर्दै खतिवडाले भने, “आजको संकटबाट बाहिर निस्कन पार्टी एक भएर अघि बढ्नुको विकल्प छैन।” आफू संघीय सांसद भए पनि गल्तीमा सजाय भोग्न तयार रहेको स्पष्ट पार्दै उनले पदभन्दा माथि संगठन र देशप्रतिको दायित्व हुने बताए।

उनले जेनजी पुस्ताले सडकमा प्रकट गरेको असन्तोषलाई क्षणिक उत्तेजना नभई भविष्यको मार्गदर्शनका रूपमा लिँदै सहकार्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। “जेनजीले भनेको कुरा बेवास्ता गर्ने हो भने हाम्रो राजनीतिको आधार नै कमजोर हुन्छ,” उनले चेतावनी दिए।

ओखलढुंगाको कार्यक्रममा प्रदीप सुनुवार, तेजेन्द्र खनाल, अजय लुइटेल, नविन राईलगायत नेताहरूको उपस्थिति रह्यो। उनीहरूले समेत नयाँ पुस्ताको भावना आत्मसात् गर्दै संगठनलाई सबल बनाउनुपर्ने धारणा राखे।

जिल्लामा खतिवडाको यो भेटघाट जेनजी आन्दोलनपश्चात कांग्रेस भित्र देखिएको आत्मचिन्तन र सहकार्यको संकेतका रूपमा व्याख्या गरिएको छ। स्थानीय कार्यकर्ताहरूले यसलाई ‘उत्साहजनक सुरुवात’ भन्दै आगामी दिनमा पार्टीलाई नयाँ दिशातर्फ उन्मुख बनाउन सक्ने अपेक्षा व्यक्त गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend