काठमाडौँ असोज २६ गते । द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम (नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्।
प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर १० जना नेपाली मारिएका थिए। १ जना अझै सम्पर्कविहीन छन्। युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार गरी सरकारले विमान पठाएर स्वदेश ल्याएको हो। नेपाली नागरिकलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए।
इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री साउदले इजरायलमा नेपालीको उद्धारका लागि आवश्यक परे अझै पनि जहाज जान सक्ने बताए। यद्यपि नियमित उडानबाट आउने नेपालीको टिकट खर्च पनि सरकारले बेहोर्ने मन्त्री साउदले जानकारी दिए।
इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीका लागि अनलाइनमार्फत् आवेदन शंकलन गरेको थियो। जसमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका थिए। विवरण उपलब्ध गराएकामध्ये ५०३ जनाले स्वदेश फर्किन अनुरोध गरेका थिए। स्वदेश फर्किने अनुरोधसहित विवरण उपलब्ध गराएकामध्ये २५४ जनालाई उद्धार उडानमार्फत् स्वदेश ल्याइएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend