काठमाडौँ । नेपाल प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी गरिरहेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आन्दोलनका क्रममा भागेकामध्ये आठ हजार जना कैदी फर्किएका छन् भने अझै करिब छ हजार फरार छन्। दशैँ, तिहार, छठजस्ता चाडपर्वमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
प्रवक्ता घिमिरेले फरारमध्ये धेरैजसो चोर–डकैत र आपराधिक मुद्दामा सजाय पाएका कैदी भएको र उनीहरूले गाउँमा गएर बदलाको भावना बोकेर घटना घटाउन सक्ने सम्भावना रहेको बताए। सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई फरार कैदीहरूको विवरण पठाइएको र प्रहरी उच्च सतर्कतामा रहेको उनको भनाइ छ।
उनका अनुसार केही फरार कैदी प्रहरीको सम्पर्कमा भए पनि आपराधिक मानसिकता भएका कैदी गाउँमा जोखिम सिर्जना गर्न सक्ने भएकाले निगरानी बढाइएको छ। नागरिकलाई भागेकाहरूको बारेमा जानकारी भएमा नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न समेत आग्रह गरिएको छ।
यसैबीच, कारागार व्यवस्थापन विभागले भागेका कैदीलाई यही असोज २० गतेभित्र स्वेच्छाले कारागार फर्कन आह्वान गरेको छ। फरारमध्ये केहीलाई भारतीय प्रहरीले भारत भाग्ने क्रममा पक्राउ गरी फिर्ता पठाएको र केहीलाई नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी समेत दिइएको छ। यस्तै, केही कैदी आफैं पनि कारागार फर्किएको प्रवक्ता घिमिरेले बताए। प्रहरीले भागेका कैदीबन्दीहरूले गलत गतिविधि जारी राखे जुनसुकै समयमा पनि पक्राउ गर्ने चेतावनी दिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend