आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादीसँग पार्टी एकता गर्न एकीकृत समाजवादी तयार, बनायो वार्ता समिति

माओवादीसँग पार्टी एकता गर्न एकीकृत समाजवादी तयार, बनायो वार्ता समिति

 

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वामपन्थी शक्तिहरूसँग पार्टी एकता गर्न वार्ता समिति गठन गरेको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको ६ पृष्ठ लामो अन्तर पार्टी निर्देशन (अपानी) मा सो निर्णयको उल्लेख छ।

वरिष्ठ नेता वेदुराम भुसालको संयोजकत्वमा बनेको वार्ता समितिमा प्रवेश हमाल र प्रकाश ज्वाला सदस्य रहेका छन्। समितिलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार तयार गर्न म्यान्डेट दिइएको पार्टीले जनाएको छ।

अपानीमा कुनै विशिष्ट दलको नाम किटान नगरिए पनि वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्ने उद्देश्य राखिएको छ। तर, एकीकृत समाजवादीले प्रस्तुत गरेको सैद्धान्तिक आधार माओवादी केन्द्रको विचारसँग मिल्दोजुल्दो देखिन्छ।

सैद्धान्तिक आधारमा नेपाल कम्युनिष्ट पार्टी नाम अपनाउने, नेपाली क्रान्तिले जनवादी चरण पूरा गरी समाजवादी चरणमा प्रवेश गरेको स्वीकार्ने, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान समाजको प्रधान अन्तर्विरोध ठहर गर्ने जस्ता बुँदा समेटिएका छन्।

त्यस्तै, पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र दीर्घकालीन रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने प्रष्ट पारिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend