आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घाउ लागेको बेलामा घाउमै नुन छर्ने प्रवृत्ति गलत होः प्रवक्ता डा प्रकाशशरण महत

घाउ लागेको बेलामा घाउमै नुन छर्ने प्रवृत्ति गलत होः प्रवक्ता डा प्रकाशशरण महत

 

५ असोज,काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कडा आक्रोश व्यक्त गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देउवा दम्पतीमाथि भएको आक्रमणको संवेदनशील समयमा नेतृत्व हत्याउन खोजिएको आरोप लगाए ।

डा। महतले भने, “हाम्रो सभापति लोकतन्त्रको लामो लडाइँ लड्नुभयो, उहाँमाथि त्रासदीपूर्ण आक्रमण भयो । तर कतिपय जिम्मेवार साथीहरू उपचार अपूरो हुँदासम्म पनि संवेदनशील हुन नसक्नु दुःखको कुरा हो ।”

भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला जेनजी आन्दोलनको बहानामा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् केन्द्रीय सदस्य डा आरजु राणामाथि सांघातिक आक्रमण भएको थियो । घरमा आगजनी समेत हुँदा दुवै दम्पती उपचाररत छन् । यसैबीच महामन्त्रीद्वय थापा र शर्माले धमिलो पानीमा माछामार्ने प्रयास गरेको महतको आरोप छ ।

“अहिले एक हुने बेला हो, कमजोरी हटाउने बेला हो,” उनले भने, “तर घाउ लागेको बेलामा घाउमै नुन छर्ने प्रवृत्ति गलत हो ।”

उनले देउवामाथि आक्रमण हुनुअघि नै पार्टीभित्र उठेका प्रश्नको स्मरण गर्दै भने, “भदौ २३ सम्म उहाँ अत्यन्त ठीक हुनुहुन्थ्यो । अहिले नेतृत्व परिवर्तनको कुरा गर्नेहरू त्यतिबेला सबैभन्दा नजिक थिए । अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नहुँदै आकाश नै खस्छ ?”

डा। महतले अन्तरिम सरकार संविधानसम्मत बाटोबाट गठन नभएको उल्लेख गर्दै पनि कांग्रेसले तत्काल विरोध नगरेको प्रष्ट पारे । “संसद नभए पनि हामीले विरोध गरेका छैनौं,” उनले भने, “तर यो पूर्ण रूपमा संविधानसम्मत बनाउन सकिन्थ्यो, त्यहाँ त्रुटि भयो ।”

उनले पार्टीभित्रै मात्र नभई अन्तरपार्टी, नागरिक समाज र युवासँग समेत गम्भीर छलफल गरेर आगामी बाटो तय गरिने जानकारी दिए । “लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकार आवश्यक छ, त्यसतर्फ चाँडो बढ्नुपर्छ,” उनले जोड दिए ।

प्रवक्ता महतले सभापति देउवा र डा राणाको स्वास्थ्य सुधारोन्मुख रहेको समेत जानकारी दिए । “ठीक भएपछि उहाँहरू चाँडै सार्वजनिक हुनुहुन्छ,” उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend