काठमाडौं । नेपाली जनता दलले भोलि आईतवार (मिति २०८२ भदौ ५ गते) दिउँसो ठिक १२ः४५ बजे काठमाडौं घटेकुलोस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ । सो कार्यक्रममा पार्टीले गत भदौ २३ र २४ गते देशभर भएका आन्दोलनबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहका अनुसार सो आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति, आन्दोलनको कारण, आगामी रणनीति र समाधानका विकल्पबारे पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी भएको छ । उनले भने, ‘‘जनताले सडकमा प्रकट गरेको आवाजलाई बेवास्ता गर्न सकिँदैन । हाम्रो दलले आन्दोलनबारे स्पष्ट र औपचारिक धारणा राख्नेछ ।’’
शाहले देशलाई अस्थिरताबाट जोगाउन र राजनीतिक निकास दिन दलले खेलेको भूमिकाबारे पनि पत्रकार सम्मेलनमा खुलासा हुने जनाएका छन् । आन्दोलनका क्रममा जनताले उठाएका माग, सरकारले देखाएको प्रतिक्रिया, सुरक्षा निकायको व्यवहार तथा भविष्यमा दलले अगाडि बढाउने कदमसमेत कार्यक्रममा प्रस्तुत गरिनेछ ।
पार्टीका अन्य शीर्ष नेता, केन्द्रीय पदाधिकारी र विभिन्न विभागका प्रतिनिधिहरू पनि पत्रकार सम्मेलनमा उपस्थित हुने जनाइएको छ । अनामनगरस्थित पार्टी कार्यालयमा आयोजना हुने सो कार्यक्रममा राजधानीका प्रमुख सञ्चारकर्मीहरूलाई निम्तो दिइसकिएको छ ।
नेपाली जनता दलले पछिल्ला राजनीतिक घटनाक्रम र आन्दोलनबाट उत्पन्न परिस्थितिबारे नागरिकलाई समयमै जानकारी दिन पत्रकार सम्मेलनलाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend