आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संविधानमाथिको आक्रमणले घाउ लागेको छः नेता खतिवडा

संविधानमाथिको आक्रमणले घाउ लागेको छः नेता खतिवडा

 

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले संविधानमाथि आक्रमण हुँदा घाउ लागेको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार जारी भिडियो सन्देशमार्फत नेता खतिवडाले जेनजी आन्दोलनका क्रममा बनेको अन्तरिम सरकार संविधानभन्दा बाहिरको प्रक्रिया भएको भन्दै त्यसलाई संविधानमा चोट लागेको घटना भनेर व्याख्या गरे । उनले भने, ‘संविधानमा बीचमा आक्रमण भएको छ, थोरै घाउ लागेको छ । तर त्यसको निकास संविधानभित्रै छ, आवश्यक परे संशोधनमार्फत पनि अघि बढ्न सकिन्छ ।’

खतिवडाले नयाँ पुस्ता राजनीतिमा उत्साहका साथ अगाडि आएको भन्दै त्यसलाई स्वागत गर्नुपर्ने बताए । तर उनले नयाँ पुस्ताले देशमा भएका संरचनागत क्षति वा विगतका राजनीतिक कमजोरीहरूको सम्पूर्ण जिम्मा लिनुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

उनले भने, ‘राजनीति गर्दा अफ्ठ्यारा आउँछन्, तर त्यसलाई समाधानतर्फ डो¥याउने जिम्मा हामी सबैको साझा कर्तव्य हो । संविधानले सबै अधिकारलाई सुनिश्चित गरेको छ, केही छुटेका विषयहरूलाई संशोधनमार्फत सम्बोधन गर्न सकिन्छ ।’

नेता खतिवडाले संविधान सबै जात, वर्ग, धर्म र समुदायको साझा धरोहर भएको उल्लेख गर्दै भेदभावरहित समाज निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान निर्माणका क्रममा हजारौं सपूतहरूले दिएको बलिदानलाई स्मरण गर्दै भने, ‘संविधान निर्माण भएपछि यसको कार्यान्वयनमा पनि ठूला चुनौतीहरू आइपरेका छन् । तर स्थानीय तहको निर्वाचनदेखि गाउँ–गाउँमा सरकार पुर्‍याउन सकिएको छ । अब यसको पूर्ण कार्यान्वयनतर्फ गम्भीर रूपमा अघि बढ्नुपर्ने बेला आएको छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend