आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न राष्ट्रपति पौडेलको आह्वान

निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न राष्ट्रपति पौडेलको आह्वान

 

 

३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ को अवसरमा सम्बोधन गर्दै तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ ।

शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने अवस्था नबनेपछि आम सहमतिमार्फत मुलुकलाई अस्थायी राजनीतिक निकास दिइएको उल्लेख गर्दै अब छ महिनाभित्र निर्वाचन सम्पन्न गरी दिगो राजनीतिक समाधानमा पुग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रपति पौडेलले अहिलेको संवेदनशील घडीमा राजनीतिक दल, प्रशासन, बौद्धिक समुदाय र आम नागरिकलाई असहमति र द्वन्द्वभन्दा माथि उठेर समन्वय र सहकार्यसहित चुनाव सफल बनाउन सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता, स्वतन्त्रता र समान अधिकार दिएको छ । यसको रक्षा गर्दै समावेशी उन्नतितर्फ अघि बढ्नुपर्छ ।”

उहाँले लोकतन्त्रलाई पुस्तौँको सहभागिताले अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै २०१७ सालदेखि आफूले प्रजातन्त्रका लागि राजनीति सुरु गरेको स्मरण गर्नुभयो । भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्ततालाई सुझबुझ र सहकार्यबाट सम्हालिएको बताउँदै उहाँले वर्तमान अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै तोकिएको समयमा चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थामा सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अभिभावकका रूपमा त्यस पीडालाई गहिरो रूपमा महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ती युवाहरूको जागरुकता र सदिच्छाले राष्ट्रको भविष्य उज्यालो बनोस् भन्ने मेरो हार्दिक कामना छ ।”

सम्बोधनमा उहाँले नेपालको भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधतामा अपार सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई न्यायोचित उपयोग गर्न सके समृद्ध नेपाल सम्भव हुने धारणा राख्नुभयो । उहाँले सुशासन, भ्रष्टाचार र बेथितिको अन्त्य, रोजगारी सिर्जना, सामाजिक न्याय र दिगोपनलाई प्राथमिकतामा राखेर मात्र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख समृद्ध नेपाल निर्माण हुनेमा जोड दिनुभयो ।

संविधान दिवसको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा। रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराईसहित संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend