आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

२७ वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या, एक अभियुक्त पक्राउ

२७ वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या, एक अभियुक्त पक्राउ

 

२ असोज, खोटाङ । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियार सामूहिक बलात्कारपछि हत्या गरिएको तथ्य सार्वजनिक भएको छ । सोमबार साँझ सहकारीमा काम सकेर घर फर्किँदै गरेकी रेस्मिकालाई बाटोमै नियन्त्रणमा लिएर आपराधिक समूहले कुटपिट गर्दै बलात्कार गरेको र त्यसपछि हत्या गरेको प्रहरीले पुष्टि गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्नमध्ये एक अभियुक्त पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा छिमेकी दीपक सार्की रहेका छन् । उनले प्रहरीलाई बयान दिने क्रममा घटनामा संलग्न अन्य साथीहरूको नामसमेत बताएका छन् । बाँकीलाई पक्राउ गर्न थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

रेस्मिकाको शव मुचुल्का संकलनपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टम गरिएको थियो । त्यसपछि बुधबार इटहरीको बुढिखोलामा अन्त्येष्टि सम्पन्न गरिएको हो ।

प्रहरीले घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ । अपराधीहरू नियन्त्रणमा नआएसम्म खोटाङ क्षेत्रमा विशेष अपरेशन जारी रहने चेतावनीसमेत डिएसपी बुढाथोकीले दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend