२६ भदौं, काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय सचिव टेक पुन मगरले देशको वर्तमान राजनीतिक अवस्थाबारे सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका छन्। उनले लामो समयदेखि नेपाली राजनीतिको असफलताले नयाँ पुस्तामा वैकल्पिक सोच जन्माएको टिप्पणी गरेका छन्।
मगरले आफ्नो फेसबुक पोस्टमार्फत परम्परागत दलप्रति कठोर टिप्पणी गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायत दलहरूको ज्यादती र जनविरोधी कदमकै कारण नयाँ दल र नयाँ आन्दोलनहरूको उदय भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “नेपाली काँग्रेसको ज्यादतीकै कारण माओवादी पार्टी जन्मियो। एमाले र काँग्रेसको अत्याचारकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो। सञ्चारमन्त्री गुरुङको बौलाहा निर्णयकै कारण नयाँ पुस्ताको आन्दोलन जन्मियो। परिणामस्वरूप आफूलाई महान् ठान्ने नेताहरूको टाउको फुटबलजस्तै बनेको छ।”
मगरले वर्तमान पुस्ता पुराना दलका नेताले बोकेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, माक्र्सवाद, लेनिनवाद वा साम्यवादजस्ता “आयातित सिद्धान्त” भन्दा भिन्न बाटो रोज्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अबको पुस्ताले ‘नेपालवाद’लाई नै आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार्नेछ।
उनले नेताहरूलाई चेतावनी दिँदै भनेका छन्, “अब नेताज्यूहरूले सुध्रिनै पर्छ। नयाँ पुस्ता तिम्रो आयातित घोकन्टे सिद्धान्त होइन, नेपालवादलाई अँगाल्नेछन्।”
मगरको यो पोस्ट सामाजिक सञ्जालमा विभिन्न तह–तप्कामा व्यापक चर्चा भइरहेको छ। कतिपयले उनको अभिव्यक्तिलाई पुराना दलप्रति आक्रोश र नयाँ पुस्ताको दिशातर्फको सङ्केतका रूपमा लिएका छन् भने केहीले यसलाई भावनात्मक आवेगमा आएको प्रतिक्रिया मात्र पनि भनेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend