काठमाडौं,असोज ११गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफैं सकिने बताएका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताएका हुन । कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षड्यन्त्र गर्दैमा कांग्रेस कमजोर नहुने दाबी समेत गरे।
पार्टीभित्र बिगार्न चाहनेभन्दा सपार्न चाहनेको संख्या अत्यधिक भएकाले सानोतिनो असमझदारीले पार्टीमा ठूलो क्षति नहुने बस्नेतले बताए। उनले भने, ‘सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले गरेका काम र संगठनदेखि कम्युनिष्टहरु आत्तिएका छन्। उनीहरुले हाम्रै साथीहरुलाई लोभमा पारेर पार्टी कमजोर गर्न उक्साइरहेका छन्। उनीहरुको षड्यन्त्रबाट बच्नुपर्छ।’
सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जग बलियो भइसकेको दाबी गर्दै कांग्रेस कमजोर पार्न कसैको तागत नभएको बस्नेतको दाबी थियो। हिजोका दिनमा केही कमजोरी भएको भए त्यसलाई सच्याएर जाने तर गलत प्रवृतिसँग भने कहिल्यै घुँडा नटेक्ने बस्नेतको चेतावनी थियो। आफूले ३ पटक निर्वाचित भएर ३ पटक मन्त्री भइसकेको बताउँदै अब नयाँ पुस्ताको राजनीतिक भविश्य सुनिश्चित पार्नका लागि युवाहरुले नेपाली कांग्रेस बलियो बनाउँदै लैजानुपर्ने बस्नेतले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend