काठमाडौँ,असोज ९ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार नालायक र निकम्मा भएका कारण मुलुकको अर्थतन्त्र डावाडोल भएको, मुलुक सामाजिक अराजकता र साँस्कृतिक विश्रृङ्खलतातर्फ गइरहेको वताएका छन । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सुन तस्करी प्रकरणको छानविन गर्ने अधिकारसहित उच्चस्तरीय आयोग गठन गर्नुपर्ने वताए । अध्यक्ष ओलीले सरकारले आयोग गठनमै विलम्ब गरेको र अहिले सुन तस्करीको छानविन आयोगले गर्न पाइँदैन भन्न थालेको वताए ।
उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरे । पछिल्लोपटकको ६१ किलो र साढे नौ किलो सुनमात्र होइन, धेरै किलो सुन तस्करी गरी देशद्रोही काम भएको वताउँदै अध्यक्ष ओलीले सुन तस्करीको कुनै पनि समय छानविन गराएर छाड्ने दृढता व्यक्त गरे ।
सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग राखेर आवाज उठाउँदा संसद् चल्न नदिएको भनी एमालेमाथि आरोप लगाउने सरकार र सत्तापक्षले अहिले लामो समयसम्म संसद् स्थगन गरेर जनप्रतिनिधिलाई जनताका समस्या प्रस्तुत गर्नबाट बन्चित गरेको भनाइ अध्यक्ष ओलीको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend