आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओली २३ सदस्यीय टोलीसहित चीन प्रस्थान, एससिओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली २३ सदस्यीय टोलीसहित चीन प्रस्थान, एससिओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

 

१४ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीन प्रस्थान गरेका छन् ।

ओलीले २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिनतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, मुख्यसचिव एक नारायण अर्याल लगायतले बिदाइ गरे । यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा चीनका राजदूतावासका प्रतिनिधिहरू उपस्थित थिए । नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।

कार्यतालिका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् भने चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । उनले सेप्टेम्बर ३ मा बेइजिङमा हुने चीनको ८०औँ वार्षिकोत्सव स्मृति कार्यक्रममा पनि सहभागी हुनेछन् ।

भ्रमणको क्रममा ओलीले चीनका उपराष्ट्रपति हान झेङसहित विभिन्न मुलुकका शीर्ष नेतासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस क्रममा नेपाल–चीन सम्बन्ध तथा अन्य प्राथमिकताका मुद्दा छलफल हुनेछन् ।

हालसम्म रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग ओलीको भेट तय भएको छ ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस सांसद पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चस्तरीय सरकारी टोली चीन पुगेको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यतालिका छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend