४ भदौं, काठमाडौं जल तथा मौसम विज्ञान महाशाखाले देशमा मनसुन केही कमजोर बन्दै गएको भए पनि वर्षाको जोखिम भने कायम रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ निरन्तर प्रवेश गरिरहेकोले वर्षाको क्रम रोकिने अवस्था छैन ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र तराईका एक–दुई भागमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहने र अन्य भागमा आंशिक बदली रहनेछ । ती प्रदेशका तराई र पहाडी भेगका विभिन्न स्थानमा मध्यम वर्षा हुने देखिएको छ । विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना उच्च रहेको महाशाखाले चेतावनी दिएको छ ।
महाशाखाले निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह वृद्धि हुने र त्यसको प्रभाव यातायात क्षेत्रमा पर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । साथै, सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गर्न पनि महाशाखाले सुझाव दिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend