४ भदौं, काठमाडौं । बरिष्ठ समाजसेवी तथा पर्यटन व्यवसायी टेक पुन मगरले सरकारको वर्तमान राजनीतिक कदमप्रति कडा आपत्ति जनाएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार प्रकट गर्दै उनले देशका वास्तविक समस्या छाडेर सरकारले अनावश्यक विषयमा नाङ्गो नृत्य गरिरहेको आरोप लगाएका हुन् ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको, भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्दावस्थामै परेको, नेपाल विद्युत प्राधिकरणमा अर्बौंको हिसाब–किताब गोलमाल भइसकेको जस्ता गम्भीर विषयमा सरकार आँखा चिम्लिएको टिप्पणी गरेका छन् । “बक्यौता उठाउन पहल गर्ने कुलमान घिसिङलाई सडकमा निमोटेर फालिन्छ, तर सरकार चुप लाग्छ,” उनले आक्रोश पोख्दै लेखेका छन् ।
यसको साटो सरकार अनाहकमा उपसभामुख इन्दिरा राना मगरमाथि महाअभियोगको तयारीमा लागेको भन्दै पुनले प्रश्न गरेका छन्, “राना मगरज्यूले के त्यस्तो देश डुबाउने अपराध गर्नुभयो जसका लागि हताउने घृणित खेल खेलिँदैछ ?” उनले यस्तो कदमले लोकतन्त्रकै मर्यादा भंग भएको टिप्पणी गरेका छन् ।
साथै उनले पछिल्लो समय सार्वजनिक स्थल र राजनीतिक वृत्तमा चर्चा पाइरहेकी जोति मगरलाई व्यंग्य गर्दै सरकार उपसभामुख बनाउन खोजिरहेको त होइन भन्ने कटाक्ष पनि गरेका छन् । पुनले लेखेका छन्, “ए सरकार, जोति मगरलाई उपसभामुख बनाउने तयारी त छैन ?”
उनको उक्त स्टाटसले सामाजिक सञ्जालमा थप बहस सुरु गरेको छ । धेरैले सरकारको प्राथमिकता उल्टो दिशामा गएको र वास्तविक समस्यामाथि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend