आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५० प्रतिशत बढेर ३ अर्ब ८१ करोड

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५० प्रतिशत बढेर ३ अर्ब ८१ करोड

२९ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ५५ करोड नाफाभन्दा करिब ५० प्रतिशतले बढी हो।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार, नाफा वृद्धि स्थिर व्यवसायिक आयका बीच इम्पेरमेन्ट चार्ज तथा ह्रासकट्टी खर्च घट्नु र अन्य सञ्चालन आम्दानी बढ्नुका कारण भएको हो। गत वर्ष १ अर्ब १४ करोड रुपैयाँ छुट्याएको इम्पेरमेन्ट चार्ज यो वर्ष घटेर ७१ करोड रुपैयाँ मात्र भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड रुपैयाँ र कमिसन तथा शुल्क आम्दानी १ अर्ब २५ करोड रुपैयाँ भएको छ। सञ्चालन तथा कर्मचारी खर्चमा झन्डै ४ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ।

१५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ३० करोड रुपैयाँ मात्र रहेकाले, पूर्ण सरकारी स्वामित्व भएको यस बैंकले लाभांश दिन नसक्ने देखिन्छ। प्रतिशेयर आम्दानी २४.४० रुपैयाँ र वितरणयोग्य आम्दानी १.९४ रुपैयाँ बराबर रहेको छ।

निष्क्रिय कर्जा दर ३.५९ प्रतिशतमा झरेको बैंकको पुँजीकोष अनुपात ११.८४ प्रतिशत, कस्ट अफ फण्ड ३.३३ प्रतिशत, बेसरेट ४.७८ प्रतिशत र ब्याजको स्प्रेडदर ३.७५ प्रतिशत रहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend