२७ साउन, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघको २२औं साधारण सभाका उम्मेदवार घोषणा तथा परिचयात्मक कार्यक्रम राजधानीको हात्तिसारस्थित नेपाल हाउसमा सम्पन्न भएको छ । कार्यक्रमको आयोजना भिम बहादुर गोतामे नेतृत्वको टिमले गरेको हो । कार्यक्रममा टिमका तर्फबाट अधिवेशनमा प्रतिस्पर्धा गर्ने पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गर्दै संघको भावी कार्ययोजना र दृष्टिकोणबारे समेत संक्षिप्त जानकारी दिइयो ।
भिम बहादुर गोतामे टिमले अधिवेशनका लागि अध्यक्ष पदमा भिम बहादुर गोतामे, वरिष्ठ उपाध्यक्षमा बिनोद तामा ङ, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत प्रसाद तिमल्सिना, सचिवमा टेक बहादुर पुन, कोषाध्यक्षमा तेजमान लामा र सदस्यमा बाजिराम घिमिरे, हरि कृष्ण हुमागाईं तथा बिष्णु बहादुर कार्कीलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ ।
उम्मेदवार घोषणा समारोहमा पर्यटन तथा यातायात क्षेत्रका वरिष्ठ व्यवसायी र संघका पूर्वपदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ व्यवसायी साङय लामा, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का पूर्व अध्यक्ष खुम सुवेदी, नेपाल पर्यटक यातायात व्यवसायी संघका वर्तमान अध्यक्ष बेदराज बास्तोला लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै पर्यटन यातायात क्षेत्रको विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे ।
वक्ताहरूले नेपाल पर्यटक यातायात व्यवसायी संघलाई व्यवसायीहरूका हक हितका लागि अझ प्रभावकारी रूपमा सक्रिय बनाउन, सेवाको गुणस्तर सुधार गर्न र पर्यटनसँग सम्बन्धित यातायात सेवामा आधुनिक व्यवस्थापन प्रणाली लागू गर्न नेतृत्वदायी टिमको आवश्यकता रहेको उल्लेख गरे ।
संघको २२औं साधारण सभा आगामी भदौ ५ गते काठमाडौंमा आयोजना हुने तय भएको छ । उक्त साधारण सभामा संघको नयाँ नेतृत्व चयन हुनुका साथै संघको आगामी कार्ययोजना, नीति तथा कार्यक्रमबारे विस्तृत छलफल हुने संघले जनाएको छ । आयोजक गोतामे टिमका अनुसार आफ्नो टिम व्यवसायीहरूका समस्याको समाधान र संघलाई पारदर्शी, सक्षम र परिणाममुखी बनाउने उद्देश्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend