२५ साउन,काठमाडौं । पशुपति आर्यघाटमा जलाइरहेको शवबाट हड्डी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–९ का ५१ वर्षीय गणेश ढकाल र उदयपुरका विनायक मैनाली रहेका छन्। प्रहरीका अनुसार काभ्रेका राम शाहीको शव जलाउने क्रममा ढकाल र उनलाई सहयोग गर्दै आएका मैनालीले शवको हड्डी निकालेर बेच्ने काम गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले ५ सय रुपैयाँमा हड्डी बिक्री गरेको खुलेको छ।
ढकालले विगत २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका छन् र प्रत्येक शव जलाएबापत पशुपति विकास कोषबाट १५ सय रुपैयाँ लिने गर्छन्। शुक्रबार दिउँसो एक अपरिचित व्यक्तिले ‘भगवानलाई चढाउन’ भन्दै हड्डी माग गरेको ढकालले प्रहरीलाई दिएको बयानमा बताएका छन्। सो व्यक्तिले सुरुमा उनलाई ४ सय रुपैयाँ दिएको र ढकालले शवको हड्डी निकालेर सहयोगी मैनालीलाई बट्टामा राखी दिनुभएको बयानमा उल्लेख छ। त्यसपछि मैनालीले बट्टा ती अपरिचितलाई बुझाएपछि थप १ सय रुपैयाँ पाएको उनीहरूको दाबी छ।
घटनाबारे मृतकका आफन्तहरूले शंका व्यक्त गर्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले हड्डीको बट्टासहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मैनाली आर्यघाट क्षेत्रमा फालिएका सामान र कपडा टिप्ने काम गर्दै आएका थिए। अनुसन्धान अधिकारीहरूका अनुसार शवको सानो आकारको हड्डी ५ सय रुपैयाँमा बेचिएको हो। हाल घटनाबारे प्रहरी वृत्त गोशालाले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend