२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले बहुविवाहलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले मुलुकी अपराध संहिता संशोधनमार्फत बहुविवाहलाई कानुनी रूपमा स्वीकार्ने खालको प्रयास भइरहेको जनाएका छन्। यस्तो प्रयासलाई ‘सर्वथा अनुचित र गलत’ भन्दै उनले तत्काल रोक्नुपर्ने चेतावनी दिएका छन्।
थापाका अनुसार विवाह सनातन संस्कृतिमा एउटा पवित्र संस्था र सामाजिक बन्धन हो, जसलाई दुर्बल बनाउने प्रयत्न विगतमा पनि गरिंदै आएको छ। उनका भनाइमा, विवाह संस्थालाई विकृत तुल्याउन बाह्य शक्तिहरूले उक्साएको षड्यन्त्र अन्तर्गत विगतदेखि नै विविध प्रपञ्च रचिँदै आएका छन्, जुन अहिले कानुनी संशोधनको नाममा पुनः दोहोरिन लागेको संकेत गरेका छन्।
उनले विवाहको पवित्रताको रक्षा गर्नु समाजको दायित्व भएको उल्लेख गर्दै सरकारलाई यस्ता कामबाट पन्छिन सचेत गराएका छन्। साथै उनले समाजका सबै पक्षलाई विवाहसंस्थामाथि भइरहेका योजनाहरूप्रति गम्भीर हुन र समयमै सचेत रहन आग्रह गरेका छन्। बहुविवाहजस्तो सामाजिक विकृतिलाई कानुनी जामा पहिर्याउने कुनै पनि प्रयास स्वीकृत नहुने बताउँदै थापाले धर्म, संस्कृति र परम्पराको रक्षाका लागि एकजुट हुन आह्वानसमेत गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend