२१ साउन,काठमाडौं । नेपाल–भारत सीमाक्षेत्रबाट नक्कली नोटसहित दुई जना युवक पक्राउ परेका छन्। सुनसरीको भीमनगर बोर्डर पोस्ट नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सप्तरी जिल्लाको हनुमान कंकालिनी नगरपालिका–२ निवासी २६ वर्षीय राजेशकुमार रजक र सोही पालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। उनीहरू भारतबाट नक्कली नोटसहित नेपाल प्रवेश गर्ने क्रममा सीमाक्षेत्रमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए। मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद गरिएको हो, जसको कुल मूल्य ३८ हजार रुपैयाँ हुन्छ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार नक्कली नोट कसरी प्राप्त भयो, कहाँ पु¥याउने उद्देश्य थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
पछिल्ला दिनहरूमा सीमावर्ती क्षेत्र हुँदै भारतबाट नक्कली नोट नेपाल भित्र्याउने गिरोह सक्रिय रहेको आशंका गरिएको छ। प्रहरीले नक्कली नोट कारोबारमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पहिचान र संलग्नताबारे पनि अनुसन्धान थालेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend