२१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झाले बैठकको जानकारी गराउँदै समसामयिक राजनीतिक घटनाक्रमसहित उपनिर्वाचन तयारी, विधान संशोधन र विभागीय पुनर्गठनजस्ता महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिए।
विशेषगरी रूपन्देही–३ मा तोकिएको उपनिर्वाचन र त्यसमा पार्टीको उम्मेदवार चयन प्रक्रिया बैठकको मुख्य एजेन्डा हुने भएको छ। इच्छुक आकांक्षीहरूले बुधबारसम्म उम्मेदवारी आवेदन दिनुपर्ने म्याद राखिएको र तीमध्येबाट सर्वसम्मत नाम टुंग्याउने तयारी भइरहेको प्रवक्ता झाले जनाए।
साथै, आगामी अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पार्टी खेलकुद विभागले आयोजना गर्न लागेको फ्युचर लिडर्स समिट कार्यक्रमबारे समेत बैठकमा समिक्षा र कार्ययोजना तय गरिनेछ।
यस बैठकबाट पार्टीका केही रिक्त विभाग प्रमुखहरू मनोनयन गरिनेछ। सचिवालयबाट प्रस्ताव गरिएका केही नामहरू केन्द्रीय समितिमा प्रस्तुत गरिने र छलफलपछि अन्तिम निर्णय लिने योजना छ।
यति मात्र होइन, पार्टीको संरचना र कार्यपद्धतिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधनसम्बन्धी प्रस्ताव पनि पेश हुने भएको छ।
रास्वपाको पछिल्ला गतिविधि र तयारीहरू हेर्दा पार्टी आन्तरिक रूपमै सुदृढीकरणमा लागेको संकेत देखिएको छ। उपनिर्वाचनमार्फत जनमत पुनः परीक्षणको अवसर मानेर, संगठनात्मक पुनर्संरचना र नीतिगत स्पष्टतासहित पार्टी अगाडि बढ्न चाहन्छ जस्तो देखिन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend