आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अहिलेको आवश्यकता होः अध्यक्ष बृषेशचन्द्र लाल

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अहिलेको आवश्यकता होः अध्यक्ष बृषेशचन्द्र लाल

 

२० साउन,काठमाडौं ।संघीय लोकतान्त्रिक मोर्चाले एक महिनासम्म देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गर्दै आइतबार काठमाडौंबाट अभियानको औपचारिक शुभारम्भ गरेको छ। विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको कार्यक्रममा मधेशी, आदिवासी, जनजाति, दलित लगायतका समुदायप्रति राज्यको उपेक्षाविरुद्ध आवाज उठाइएको छ।

कार्यक्रममा बोल्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले अहिलेको राजनीतिक अवस्थालाई मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक मोर्चाको अभियानलाई समयसापेक्ष र अपरिहार्य बताए। “हामी सबैलाई थाहा छ — जबसम्म समान अधिकार, समावेशिता, सम्मानपूर्वक जीवन र समानुपातिक प्रतिनिधित्वका लागि सशक्त राजनीतिक शक्तिको निर्माण हुँदैन, तबसम्म परिवर्तन सम्भव छैन,” उनले भने।

लालले नेपालको संविधान जारी भएको १० वर्ष बितिसकेको स्मरण गराउँदै संघीयता, समावेशिता, सुशासन र राजनीतिक स्थायित्वका लागि लडिएको संघर्षको उपलब्धि अपेक्षाअनुसार नदेखिएको गुनासो गरे। उनले राज्य प्रणालीमा व्यापक भ्रष्टाचार रहेको र अहिलेको शासन प्रणाली संघीय लोकतान्त्रिक मूल्यविपरीत रहेको दाबी गरे।

“पहिला हामी संघीयता आवश्यकता हो भन्थ्यौं, अहिले बाध्यता बनिसकेको छ,” भन्दै उनले सरकारप्रति गम्भीर प्रश्न उठाए। उनले वर्तमान सरकार दुई ठूला प्रतिस्पर्धी दलहरूको अस्वाभाविक गठबन्धन भएको भन्दै यो गठजोड जनताको पक्षमा नभई भ्रष्टाचार लुकाउने र भागबन्डाको राजनीति गर्न बनेको आरोप लगाए।

अध्यक्ष लालले थारुहट आन्दोलनलगायत मधेश आन्दोलनका क्रममा राज्यले दमन गरेको, निर्दोष नेता–कार्यकर्तालाई जेल हालिएको र झूटा मुद्दा लगाइएको प्रसंग उठाउँदै अदालतसमक्ष निष्पक्षता देखाउन आग्रह गरे।

“थारुहट आन्दोलनमा संलग्न निर्दोषहरूलाई अझैसम्म बन्दी बनाइराखिएको छ। राज्यले आन्दोलनकारीलाई ‘राष्ट्रद्रोही’को संज्ञा दिएर दमन गर्‍यो,” उनले भने।

लालले मधेशमा भूमि वितरण नहुनु, सुकुम्बासीहरू झन् पिँडित बन्नु, चुरे र भावर क्षेत्रको अत्यधिक दोहनले सिर्जना गरेको पर्यावरणीय संकट र सिचाइ अभावलाई राज्यको उदासीनताको परिणति भने।

“मधेश प्रदेश नेपालको मुख्य अन्न उत्पादन क्षेत्र हो। जहाँ पहिले ६८ प्रतिशत उत्पादन हुन्थ्यो, अब सिचाइ अभावका कारण ४० प्रतिशतमा झरेको छ,” भन्दै उनले तत्काल चुरे फडानी रोक्न र मधेशमा सिचाइ सुविधा पु¥याउन सरकारलाई आग्रह गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लालले भने, “समानुपातिक र समावेशी राजनीति नै मधेशको हितको राजनीति हो। यही मार्गमा हिँड्न सके मात्र हाम्रो एकता सार्थक हुन्छ।”

उनले संघीय लोकतान्त्रिक मोर्चाको अभियान न केवल राजनीतिक चेतना फैलाउने अभियान भएको, तर यो आन्दोलन मधेश, थारुहट र आदिवासी जनजातिहरूको अधिकार प्राप्तिको नयाँ चरणको सुरुवात भएको दाबी गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend