१८ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता श्रीधर खनालले कम्युनिष्ट पार्टीभित्र अन्तरद्वन्द्व हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन्। उनले यो विषयलाई कुनै नकारात्मक संकेतको रूपमा नभई पार्टीभित्रको वैचारिक छलफल र विकासको संकेतको रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
आज खबरब्रेकिंगसँगको छोटो कुराकानीमा नेता खनालले पार्टीभित्र चर्किएको जस्तो देखिएको विवाद वास्तवमा गहिरो छलफल मात्रै भएको स्पष्ट पारे। उनका अनुसार यस्तो बहस र अन्तरद्वन्द्वबाटै पार्टीभित्र नयाँ सोच, नीति, कार्यदिशा र नेतृत्वको परिपक्वता विकास हुन्छ, जसले गर्दा पार्टी अझ बलियो, सशक्त र सुदृढ हुँदै जान्छ।
उनले माओवादी केन्द्रलाई ‘विचारको धनी’ पार्टीको रूपमा परिभाषित गर्दै यस पार्टीमा देखा पर्ने वैचारिक बहसलाई कमजोरी नभई सम्भावनाको अवसरका रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार, यस्ता बहसहरू लोकतान्त्रिक अभ्यासका संकेत हुन् र नेतृत्वलाई सही मार्गमा लैजान सहयोग पुर्याउँछन्।
पार्टीभित्र देखिएको मतभेदलाई केही विपक्षीहरूले कमजोरीको रूपमा प्रचार गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै खनालले यस्तो सोच गलत भएको बताए। उनले यस्ता प्रयासहरू सफल नहुने र माओवादी केन्द्र थप एकताबद्ध भएर अघि बढ्ने दाबी गरे।
खनालले अन्त्यमा भने, “पार्टीमा विचार विमर्श र असहमतिका स्वरहरू हुनु सकारात्मक कुरा हो। यही प्रक्रिया हामीलाई थप बलियो बनाउँछ र परिवर्तनको यात्रालाई अझ तिव्र बनाउँछ।” उनको यो धारणा पार्टीभित्रको स्वस्थ बहसलाई प्रोत्साहित गर्ने दिशामा रहेको देखिन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend