१७ साउन ,काठमाडौं । पत्रकारिताको नाममा ठगी र अनैतिक गतिविधि गर्ने केही व्यक्तिहरूको सक्रियताले पत्रकारिता पेसाको नैतिकता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ। यस्ता क्रियाकलापको विरुद्धमा अब पत्रकार स्वयंले नै आवाज उठाउन थालेका छन्।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, तिलगंगामा पत्रकार खगेन्द्र अवस्थीले दिएको एक ध्यानाकर्षणपत्रमा काठमाडौं उपत्यकाभित्र केही व्यक्ति ‘पत्रकार’ भनेर चिनाउँदै, समाचार संकलनको बहानामा अनैतिक गतिविधि तथा ठगीमा संलग्न भएको आरोप लगाएका छन्। अवस्थीका अनुसार यस्ता व्यक्तिहरूको हर्कतले पेशागत पत्रकारहरूको छवि धमिलिएको छ र समाचार संकलन स्थलहरूमा समेत पत्रकारहरूप्रति अविश्वासको वातावरण सिर्जना भइरहेको छ।
“यस्ता अव्यवसायिक गतिविधिले केवल व्यक्तिगत स्तरमा हैन, सम्पूर्ण पत्रकार समुदायको मर्यादामाथि नै आघात पुर्याइरहेको छ,” अवस्थीले महासंघ अध्यक्षसमक्ष बुझाएको निवेदनमा उल्लेख गरिएको छ। उनले यस्ता नक्कली पत्रकारहरूको तत्काल पहिचान गरी, आवश्यक छानबिनसहित कारबाही गर्न महासंघसँग आग्रह गरेका छन्।
पत्रकार अवस्थीले नेपाल पत्रकार महासंघ मात्र नभई पत्रकार महासंघसँग आवद्ध अन्य संघ-संस्थाहरूसँग पनि समन्वय गर्दै यस्तो प्रवृत्तिको रोकथामका लागि सामूहिक पहल आवश्यक रहेको बताएका छन्। पेशागत आचारसंहिताको रक्षा र पत्रकारिताको मर्यादा जोगाउन यस्ता व्यक्तिहरूको गतिविधिमा छानबिन र नियमन अति आवश्यक भएको उनको जोड छ।
नेपाल पत्रकार महासंघका पदाधिकारीहरूले यस विषयमा औपचारिक प्रतिक्रिया नदिए पनि संघका केही स्रोतहरूका अनुसार यस्ता गुनासोहरू बढ्दै गएका छन् र महासंघले नक्कली पत्रकारहरूको पहिचान र निगरानीमा थप सक्रियता देखाउने तयारी गरेको छ।
पत्रकारिता लोकतन्त्रको चौथो अंग हो भन्ने मान्यतालाई जीवित राख्न यस्ता विकृति र विसंगतिको अन्त्य हुनु आवश्यक छ। पत्रकार नामको दुरुपयोग गर्नेहरूलाई पेसाबाट अलग्याउनु र निस्पक्ष पत्रकारलाई सुरक्षित वातावरण दिनु आजको आवश्यकता बनेको छ।
श्री अध्यक्षज्यू
नेपाल पत्रकार महासंघ
तिलगंगा, काठमाडौं
विषय: पत्रकारको नाममा ठगी गर्दै हिँड्ने व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाहीको अनुरोध
म नेपालको एक पत्रकारको हैसियतले शुशासन पत्रिकाबाट आबद्ध खगेन्द्र अवस्थी, तपाईं समक्ष गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
हाल काठमाडौं उपत्यकामा केही व्यक्तिहरू “पत्रकार” भन्दै विभिन्न स्थलहरूमा समाचार संकलनको नाममा गतिविधि गरिरहेका छन्। तर तीमध्ये केहीले पत्रकारिताको आडमा अव्यवसायिक र ठगीजन्य क्रियाकलाप गरिरहेको पुष्टि भइरहेका घटनाहरू देखिएको छ। यसले पेशागत पत्रकारहरूको छविमा नकारात्मक असर पार्नुका साथै समाचार संकलनका स्थलहरूमा अवरोध र अविश्वासको वातावरण सिर्जना भइरहेको छ।
उक्त समस्या समाधानका लागि उनीहरूको पहिचान गरी नेपाल पत्रकार महासंघबाट आवश्यक छानबिन गरी संस्थागत तहबाट स्पष्ट सन्देश दिनु आवश्यक देखिन्छ।
साथै, NAFIJ, NEFEG, JAAM लगायत पत्रकार संगठनहरूसँग समन्वय गरी यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न समेत अनुरोध गर्दछु।
सादर,
खगेन्द्र अवस्थी
शुशासन पत्रिका
२०८२/०४/१७

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend