काठमाडौं, भदौ ९ गते । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्ट मात्रै बनाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निष्कर्षमा पुर्याउन नसक्ने बताए ।
उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरुलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरुलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निष्कर्ष रहेको बताए ।
शरणार्थी प्रकरणमा अदालतमा पेस भएका प्रतिवेदनले अन्तिम निष्कर्ष दिन नसक्ने उनको दाबी छ । वर्तमान सरकारले यदि सुशासनको नेतृत्व गरेको हो भने शरणार्थी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउन जरुरी रहेको उनको भनाइ छ ।
त्यसैगरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरु सबै आर्थिक लाभकै कारण संलग्नता नभए पनि न्यायिक प्रश्न उठेपछि न्यायिक कसीमा जाँचिनुपर्ने उनले बताए ।
‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौं, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्यो भनेर म भन्दिनँ । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटि न्यायिक कसीमा जाँचिनु पर्दछ,’ उनले भने ।
अहिलेको सरकारको आयु कांग्रेस ब्युँझिएको दिनसम्म मात्रै बाँकी रहने उनको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिलेकाहीँ ब्युँझिएकोजस्तो गर्यो भने पनि भ्रष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमल्लिएको उनले बताए । ‘कांग्रेस अहिले ब्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिलेकाहीँ ब्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नुहुन्छ,’ नेता तामाङले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend