आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

समाजवादको परिभाषा पुस्तकको पाना होइन, व्यवहारको रचना होः खनाल

समाजवादको परिभाषा पुस्तकको पाना होइन, व्यवहारको रचना होः खनाल

१५ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता श्रीधर खनालले समाजवादलाई केवल पुस्तकमा सीमित सैद्धान्तिक कुरा नभई व्यावहारिक नीतिको मार्गदर्शन र संरचनात्मक विकासको प्रक्रिया भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक मन्तव्य दिँदै उनले उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व, जनमुखी व्यवस्थापन र निजी सम्पत्तिको भूमिका सम्बन्धमा विचार राखेका छन् ।

खनालले लेखेका छन्, “समाजवाद पुस्तकको अध्याय मात्रै होइन, यो त जनताको जीवनमा देखिने परिवर्तनको संरचना हो । उत्पादनका साधनमा सामूहिक स्वामित्व र जनताको हितअनुकूल व्यवस्थापनको संरचना बिना समाजवाद सम्भव छैन ।”

उनको दाबी छ कि समाजवादी बाटो केवल भाषण वा आदर्शमा होइन, स्पष्ट रणनीति र नीतिगत कार्यान्वयनमा आधारित हुनुपर्छ । निजी सम्पत्तिको भूमिका बारे प्रश्न गर्दै खनालले लेखेका छन्, “के उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व र जनमुखी व्यवस्थापन आवश्यकता होइन? के निजी सम्पत्तिको भूमिकालाई चरणगत ढंगले समाजवादी ढाँचासँग समायोजन गर्नु रणनीतिको हिस्सा होइन?”

खनालले वर्तमान समाजमा हुने असमानता, बेरोजगारी र विकासमा पहुँचको असन्तुलनप्रति पनि संकेत गर्दै समाजवादलाई ती समस्याको समाधानको उपायका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार आजको समयले व्यवहारमा लागू गर्न सकिने, जनतालाई महसुस हुने समाजवादको माग गरिरहेको छ ।

राजनीतिक वृत्तमा खनालको यो भनाइलाई युवा पुस्ताबीच समाजवादी विचार र व्यवहारबीचको दूरी घटाउने प्रयासका रूपमा हेरिएको छ । माओवादी केन्द्रभित्र वैचारिक स्पष्टता र नीतिगत स्थायित्वको खाँचो महसुस भइरहेका बेला खनालको यस्तो अभिव्यक्ति सन्देशमूलक भएको विश्लेषकहरूको टिप्पणी छ ।

खनालको स्टाटसले युवा राजनीतिज्ञहरू समाजवादी सोचलाई केवल नारामा सीमित नराखी, व्यवहारमा रूपान्तरण गर्नुपर्ने पक्षमा छन् भन्ने धारणा उजागर गरेको छ । समाजवादलाई व्यवहारमा उतार्न सकिने प्रस्ट कार्यनीति र संरचनात्मक योजनाबिना सामाजिक न्याय, समता र समृद्धिको सपना अधुरो रहने उनको तर्क छ ।

खनालको यो अभिव्यक्ति सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियासहित भाइरल बन्दै गएको छ । केहीले यो युवा नेता भित्रको गहिरो वैचारिक चेतनाको संकेत मानेका छन् भने केहीले यथार्थ राजनीतिक कार्यान्वयनको चुनौतीबारे थप बहस गर्नुपर्ने बताइरहेका छन् ।

उनको यस अभिव्यक्तिले केवल समाजवादको परिभाषा मात्र प्रस्तुत गरेको छैन, भविष्यको मार्गदर्शनमा लाग्ने नेतृत्वलाई वैचारिक दृष्टि दिने कोशिस पनि गरेको देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend