आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज देशभर नागपञ्चमी पर्व श्रद्धा, भक्ति र धार्मिक उल्लासका साथ मनाइँदै

आज देशभर नागपञ्चमी पर्व श्रद्धा, भक्ति र धार्मिक उल्लासका साथ मनाइँदै

 

१३ साउन,काठमाडाैं । आज देशभर नागपञ्चमी पर्व श्रद्धा, भक्ति र धार्मिक उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा  नागदेवताको पूजा गरी घरको मूलढोकामा तस्बिर टाँस्ने परम्परा छ। सनातन वैदिक परम्परासँग गहिरो सम्बन्ध राख्ने यस पर्वको धार्मिक र सांस्कृतिक महत्व अत्यन्त गहिरो छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रत्येक घरको जगमुनि नाग रहेको विश्वासले गर्दा पनि नागपूजाको परम्परा आजसम्म जीवन्त छ। नाग रिसाएर घर भत्किन सक्ने डरले गर्दा पनि यो पूजा महत्वपूर्ण ठानिन्छ। धार्मिक मान्यताअनुसार नागपूजा गरेमा घरमा सर्प, बिच्छी जस्ता जीवजन्तुको भय टर्छ भने अग्नि, मेघ र चट्याङजस्ता प्राकृतिक आपदाबाट समेत जोगिन सकिन्छ।

नागपञ्चमीका दिन शिव र विष्णुजस्ता प्रमुख देवतासँग सम्बन्धित प्रतीकहरूको पनि पूजा गरिन्छ। शिवले नागको माला लगाउँछन् भने विष्णु शेषनागको शय्यामा विश्राम गर्छन्। श्रीरामका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलरामलाई समेत शेषनागकै अवतार मानिन्छ।

यस पर्वसँग जोडिएको एक लोकप्रिय किंवदन्ती अनुसार श्रावण शुक्ल पञ्चमीकै दिन नागिनीले आफ्ना सन्तान मारिएको पीडामा किसान परिवारमाथि प्रतिशोध लिएको कथा छ। किसानकी छोरीले नागलाई पूजाआजा गरी मनाएको कारण सम्पूर्ण परिवार पुनर्जीवन पाएको जनविश्वास छ। यही घटनाको सम्झनामा नागपञ्चमीको परम्परा शुरु भएको विश्वास गरिन्छ।

आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ प्रमुख नागहरूको विशेष पूजा गरिन्छ। ब्राह्मण वा पुरोहितमार्फत विधिपूर्वक पूजा गरेर गाईको दूध, अक्षता, दुबो, खीर र रोटी चढाइन्छ। नागको तस्बिर घरको मूल ढोकामाथि टाँस्ने परम्परा यसै दिन पालना गरिन्छ। खेतबारी नजोत्ने, सर्प–नागलाई नमार्ने परम्परा पनि आजको दिनको महत्वपूर्ण पाटो हो।

काठमाडाैंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका प्रमुख नाग स्थलहरूमा आज विशेष मेला लाग्ने गर्छ। ती स्थानमा भक्तजनको ठूलो भीड देखिएको छ। नागपोखरीमा विशेष तामझामसहित पूजाआजा सम्पन्न हुने र टौदहमा जलनागको पूजाआजा गरी मेला मनाइने प्रचलन छ।

धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिकोणले पनि नागजातीको मानव जीवनमा महत्वपूर्ण भूमिका रहेको बताइन्छ। नाग प्रजातिले विषालु जीवको नियन्त्रण र प्राकृतिक सन्तुलनमा भूमिका खेल्ने भएकाले ऋषिमुनिहरूले नागपूजाको परम्परा बसालेको विश्वास गरिएको छ।

यस पर्वबाट वैदिक सनातन धर्मावलम्बीहरूको चाडपर्वको औपचारिक सुरुवात हुने धार्मिक मान्यता पनि छ। नागपञ्चमीले प्रकृति र जीव–जन्तुप्रतिको सम्मान, सम्वेदनशीलता र सहअस्तित्वको सन्देश दिएको मानिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend