४ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता श्रीधर खनालले आगामी दशैं अघि नै मुलुकमा गम्भीर राजनीतिक ध्रुवीकरण हुने ठोकुवा गरेका छन्। आज खबरब्रेकिंग डटकम सँगको छोटो कुराकानीमा उनले वर्तमान सरकार जनताका हितविपरीत काम गरिरहेको आरोप लगाउँदै देश र जनताको पक्षमा कुनै सकारात्मक काम नगरेको टिप्पणी गरे। खनालका अनुसार नेकपा माओवादी केन्द्र अहिलेको अवस्थामा सरकारमा जानु उचित हुँदैन, बरु जनताका पक्षमा स्पष्ट एजेन्डासहित सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको उनले बताए।
युवा नेता खनालले सरकारको आयु धेरै दिन नटिक्ने संकेत गर्दै एमालेभित्र गहिरो आन्तरिक विवाद रहेको दाबी गरे। उनले यो संकटको निकासका रूपमा सर्वदलीय सरकारको खाँचो औंल्याउँदै प्रमुख तीन दलहरू—एमाले, कांग्रेस र माओवादी केन्द्र—बीच आपसी सहमति नभए २०८४ को चुनावमा यी दलहरू सखाप हुने चेतावनी समेत दिए। पछिल्लो समय जनता ठूलो दलहरूप्रति निराश हुँदै गएको खनालको भनाइ छ, जसका कारण राजनीतिक अविश्वास झनै गहिरिँदै गएको छ। उनले नेकपा माओवादी केन्द्र सरकारमा जान हतार नगरेको र यथार्थ मूल्याङ्कनसहित निर्णय लिने पक्षमा रहेको स्पष्ट पारे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend