आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देशभर मनसुनी प्रभाव : विभिन्न नदीहरूमा आकस्मिक बाढीको जोखिम

देशभर मनसुनी प्रभाव : विभिन्न नदीहरूमा आकस्मिक बाढीको जोखिम

 

४   साउन,काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव जारी रहेको छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा व्यापक वर्षा भइरहेको छ भने लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा भइरहेको पृष्ठभूमिमा देशका प्रमुख नदी तथा सहायक नदीहरूमा जलसतह बढ्ने क्रम जारी छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानको मापन अनुसार कोशीको सहायक नदी तमोर र कन्काई नदीको जलसतह सतर्कता सीमामा पुगेको छ। नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायतका नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तल रहेको जनाइएको छ।

आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुङ्गा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख लगायतका जिल्लाबाट बहने साना नदी तथा खोलाहरूमा उल्लेख्य बहाव वृद्धि भई आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ।

त्यस्तै, सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका क्षेत्रहरूमा बहने खोलानालामा मध्यम जोखिमको आकस्मिक बाढी आउने सम्भावना रहेको चेतावनी दिइएको छ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, खोलानालाबाट टाढा रहन तथा आकस्मिक आपतकालीन अवस्थाको तयारीमा रहन आग्रह गरेको छ। साथसाथै, स्थानीय प्रशासन, सुरक्षा निकाय, तथा विपद् व्यवस्थापन सम्बन्धी निकायहरूलाई पनि उच्च सतर्कताका साथ पूर्वतयारीमा जुट्न निर्देशन दिइएको छ।

जनजीवन, यातायात तथा कृषि क्षेत्रमा ठूलो असर पर्ने सम्भावना भएकाले साना नदी तथा खोला आसपासका बस्तीहरूमा आकस्मिक स्थानान्तरण तथा आपतकालीन उद्धार व्यवस्थाको तयारी आवश्यक देखिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend