३१ असार, काठमाडौं । आज संघीय संसद्का दुवै सदन — प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे बस्ने तय भएको छ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ।
यससँगै लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन्। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
राष्ट्रियसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि तय भएको संघीय संसद सचिवालयले जनाएको छ।
दुवै सदनमा प्रस्तुत हुने यी विधेयकहरू अर्थतन्त्र, पूर्वाधार र प्रशासनिक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू भएकाले आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend