३० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायम रहँदा अधिकांश भागमा बदली मौसमको स्थिति देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर सरेको छ, जसका कारण आज दिनभर देशभर आंशिकदेखि साधारण बदली हुने छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने प्रबल सम्भावना छ।
देशका उच्च–पहाडी तथा हिमाली भेगमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुने संकेत देखिएको विभागले उल्लेख गरेको छ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
मौसमविद्हरूले निरन्तरको वर्षाले पहाडी तथा तराई भू–भागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न आम नागरिक र सरोकारवाला निकायहरूलाई सचेत गराएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend