१५ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्हरूले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशका पहाडी भेगका धेरै स्थान र अन्य भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, देशका उच्चपहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली नै रहनेछ । रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशका पहाडी भू–भागका धेरै स्थान र अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै छ । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend