१५ असार, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकको प्रमुख कार्यसूची संघीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने रहेको छ । यसअघि असार ३ गतेको बैठकमै विधेयक पारित गर्ने भनिए पनि अन्तिम समयमा रोकिएको थियो ।
संसद सचिवालयले तय गरेको कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव पेश गर्नु हुनेछ । प्रस्ताव पेश भएपछि सांसदहरूले विधेयकमाथि आ-आफ्ना धारणा राख्नेछन् र त्यसपछि विधेयक पारित गरिनेछ ।
प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पनि विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नु हुनेछ । सभामुखको प्रमाणिकरणपछि विधेयक राष्ट्रपतिसमक्ष पेस गरिनेछ र राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र विधेयक कार्यान्वयनमा आउनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend