८ असार, काठमाडौं । जलेश्वर विकास संस्थाका अध्यक्ष होमनाथ पुडासैनीले जलेश्वर मन्दिरको होम कुण्ड निर्माण कार्य अपूर्ण रहनुमा सरकारी उपेक्षा र स्थानीय सहयोगकर्ताको बेवास्ता प्रमुख कारण भएको गुनासो पोखेका छन्। उनले आज खबरब्रेकिंग सँगको छोटो कुराकानीमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले मन्दिरका लागि बजेट छुट्याउने आश्वासन दिएको भए पनि हालसम्म कुनैपनि तहबाट आर्थिक सहयोग नपुगेकोमा गहिरो दुःख व्यक्त गरे।
धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने जलेश्वर मन्दिर धादिङ र नुवाकोट जिल्लाको सीमामा पर्ने कल्पु खोलाको किनारमा अवस्थित छ। मन्दिरमा प्रत्येक वर्ष हजारौं श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ। यसलाई ध्यानमा राखी मन्दिरको संरचना विकास, होम कुण्ड निर्माण र अन्य सुविधाहरू विस्तार गर्न योजना बनाइएको थियो। तर आर्थिक अभावका कारण योजनाहरू अधुरो अवस्थामा रोकिएका छन्।
अध्यक्ष पुडासैनीका अनुसार प्रारम्भिक चरणमा मन्दिर विकासको लागि केही व्यक्तिहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने बचन दिएका थिए। तर, निर्माण कार्य सुरु भएपछि ती मध्ये अधिकांश सहयोगकर्ताहरू सम्पर्कविहीन भएका छन् वा प्रत्यक्ष रूपमा पन्छिएका छन्। उनले यस्तो प्रवृत्तिले मात्र संस्थालाई होइन, धार्मिक आस्थामा आधारित समुदायलाई नै निराश तुल्याएको उल्लेख गरे।
उनले आग्रह गर्दै भने, “धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण सरकार र समुदाय दुवैको दायित्व हो। आश्वासनले मात्रै होइन, वास्तविक कार्यान्वयनले मात्र विकास सम्भव हुन्छ।” अध्यक्ष पुडासैनीले जलेश्वर मन्दिरको विकासले पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई तत्काल बजेट सुनिश्चित गर्न आग्रह गरे।
अध्यक्ष पुडासैनीले जलेश्वर मन्दिरको संरक्षण कार्यमा सरोकारवाला निकायहरूको बेवास्ताप्रति गुनासो पोखे । वर्षाको समय सुरु भइसकेको र मन्दिरभित्र बग्ने खोलोले होमकुण्डमा क्षति पुर्याउने खतरा बढेको हुँदा खोलो छेक्न बार लगाउने प्रयोजनका लागि सम्बन्धित निकायसँग तारवारको माग गर्दा समेत कुनै सहयोग नपाएको उनले दुख बताए। पुडासैनीले अहिले नै उचित सुरक्षा नअपनाए खोलोको बाढीले होमकुण्ड बगाउने सम्भावना प्रबल भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनका अनुसार, मन्दिर जस्तो ऐतिहासिक र धार्मिक स्थलको संरक्षणमा सरकार तथा अन्य निकायहरूको चासो नहुनु दुर्भाग्यपूर्ण छ। पटकपटक गुहार गर्दा पनि कतै सुनुवाइ नभएको र मन्दिर जोगाउन अब मिडियामार्फत हारगुहार माग्न बाध्य भएको पुडासैनीले बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend