२ असार, काठमाडौं ।नेपाली कांग्रेसका जेष्ठ नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल) को निधन भएको छ। सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ९० वर्षीय शास्त्रीको निधन भएको हो। उनको निधनको खबर नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले पुष्टि गरेकी हुन्।
ढुण्डीराज शास्त्री दुईपटक प्रतिनिधिसभाका सांसदसमेत भएका थिए। २०४८ र २०५१ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारका रूपमा अर्घाखाँचीबाट प्रतिनिधित्व गरेका उनी उद्योग तथा श्रममन्त्रीको जिम्मेवारीमा पनि रहे। राजनीति, संसद, र सरकारका जिम्मेवारीमा इमानदार, स्पष्टवक्त र समर्पित नेताका रूपमा उनले आफुलाई परिचित गराएका थिए।
राजनीतिसँगै उनी विचार र दर्शनका क्षेत्रमा पनि उतिकै सक्रिय थिए। उनको योगदानको कदरस्वरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८० सालमा उनलाई “बिपी कोइराला राष्ट्रिय पुरस्कार” बाट सम्मानित गरेको थियो। सरकारको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार उनलाई “राजनीतिक दर्शन” तर्फ उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो।
शास्त्रीको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र समर्पित नेता गुमाएको छ। पार्टीभित्रका विभिन्न पुस्तालाई उनले मार्गदर्शन दिएका थिए भने कार्यकर्तामाझ उनी बौद्धिक र विवेकी नेताका रूपमा चिनिन्थे। उनका विचार, अनुशासन र राजनीतिक योगदान सधैं स्मरणीय रहनेछ।
हाल उनका दुवै छोरा विदेशमा रहेकाले उनीहरू स्वदेश फर्किएपछि मात्र अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ। पारिवारिक स्रोतका अनुसार अन्तिम श्रद्धाञ्जली कार्यक्रम त्यसपछि सार्वजनिक गरिनेछ। शास्त्रीको निधनले केवल नेपाली कांग्रेसलाई होइन, समग्र नेपाली राजनीतिक वृत्तलाई नै अपूरणीय क्षति पुगेको अनुभूति गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend