काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन ।
नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएको बताए ।
उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend