आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

१२ जेठ, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्दैछ। बैठकमा पार्टीको आन्तरिक संरचना, क्रियाशील सदस्यता नवीकरण प्रक्रिया र हालका विवादित मुद्दाहरूमा केन्द्रित छलफल हुने जनाइएको छ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा विशेष रूपमा हालसम्मको क्रियाशील सदस्यता नवीकरणको प्रगतिबारे समीक्षात्मक छलफल गरिनेछ। उक्त कार्यका लागि गठन गरिएको समितिका संयोजक महामन्त्री गगन थापाले यस सम्बन्धमा विस्तृत जानकारी बैठकमा दिनेछन्। सदस्यता नवीकरणको टुंगो नलाग्दासम्म पार्टी महाधिवेशनको मिति अन्योलमा रहने अवस्था भएकाले आजको बैठक निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ।

यस्तै, गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विभागमा सेटिङ मिलाएर अवैध रकम असुली गरेको आरोपसमेत बैठकको एजेन्डामा परेको बुझिएको छ। गृहमन्त्री लेखकमाथि अध्यागमनको माध्यमबाट दैनिक ५० लाख रुपैयाँ असुली गरिएको आरोप सार्वजनिक भएपछि तीव्र आलोचना सुरु भएको छ। यद्यपि मन्त्री लेखकले ती आरोप अस्वीकार गर्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा स्पष्ट पार्ने बताएका छन्।

पार्टीभित्र र बाहिर दुवै स्तरमा गृहमन्त्रीप्रति उठेको असन्तोष, क्रियाशील सदस्यता विवाद र महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस नेतृत्वको आजको बैठकले पार्टीको आगामी दिशा निर्धारणमा महत्त्वपूर्ण सन्देश दिन सक्ने देखिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend