सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाल अस्पतालका लागि सोल्टी होटलको ७५ लाख सहयोग

बाल अस्पतालका लागि सोल्टी होटलको ७५ लाख सहयोग

खबरब्रेकिंग,काठमाडौं, फागुन १६। सोल्टी होटल लिमिटेडले बाल अस्पतालका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष दिनेशबहादुर विष्टले किओचका अध्यक्ष डा भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका छन्। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र त्यही अन्तर्गत किओचलाई पनि सहयोग गरिएको अध्यक्ष विष्टले बताए।

किओचले काठमाडौंमा अत्याधुनिक बाल अस्पताल निर्माण गरिरहेको छ। त्यस्तै, देशका सातै प्रदेशमा पनि अस्पताल सञ्चालन गर्न लागेको छ। “यस्तो पुनित कार्यमा सहयोग गर्न पाउँदा गौरवको अनुभूति भएको छ,” विष्टले भने।

किओचका संस्थापक अध्यक्ष डा कोइरालाले सहयोगका लागि कम्पनीलाई धन्यवाद दिए। उनले बालबालिकामा हुने जटिल एवं गम्भीर प्रकृतिका रोगको उपचार सहज र सुलभ बनाउने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको बताए।

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)ले झापाको दमकमा बाल अस्पताल सञ्चालन गर्दै छ। किओचले सञ्चालन गर्न लागेको किओच दमक स्याटेलाइट बाल अस्पताल र काठमाडौंमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालका लागि सहयोग गरिएको सोल्टी होटलले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend