आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मञ्जुश्री फाइनान्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा २०८३ कार्तिक २० गते शुक्रबार काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

सभाले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । जसअनुसार कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ ८० पैसाको १५ प्रतिशत अर्थात् २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ । त्यस्तै, चुक्ता पुँजीको पाँच प्रतिशत अर्थात् ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ ४४ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ ।

त्यसैगरी, कम्पनीले आफ्नो प्राथमिक पुँजी वृद्धि गर्ने उद्देश्यले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । प्रतिइकाई १०० रुपैयाँका दरले ४० लाख इकाई शेयर जारी गर्ने प्रस्तावअनुसार उक्त शेयरमा ८.७५ प्रतिशत लाभांश दर कायम गरिनेछ । तर, यस्तो शेयरबाट मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण हुनेछ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएपछि कार्यान्वयनमा आउनेछ ।

सभाले बोनस शेयर समायोजन तथा अग्राधिकार शेयर जारी गर्ने प्रस्तावअनुसार कम्पनीको अधिकृत पुँजी एक अर्ब ३६ करोड रुपैयाँबाट वृद्धि गरी एक अर्ब ८३ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णयसमेत भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता तथा सुविधासम्बन्धी व्यवस्थामा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरणलगायतका कार्यमा नियमनकारी निकायबाट प्राप्त हुने निर्देशन र सुझावअनुसार आवश्यक परिमार्जन तथा संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।

उक्त सभाका निर्णयसँगै मञ्जुश्री फाइनान्सले शेयरधनीलाई नगद तथा बोनस शेयरमार्फत लाभांश वितरण गर्ने र अग्राधिकार शेयर जारी गरी संस्थाको प्राथमिक पुँजी थप सुदृढ बनाउने योजना अघि बढाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend