सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपामा महत्त्वाकांक्षाभन्दा अनुशासन र जिम्मेवारी ठूलो : युवा नेता पुन मगर

रास्वपामा महत्त्वाकांक्षाभन्दा अनुशासन र जिम्मेवारी ठूलो : युवा नेता पुन मगर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता टेकबहादुर पुन मगरले पार्टीको मूल राजनीतिक एजेन्डा विधिको शासन र लोककल्याणकारी राज्यको स्थापना भएको उल्लेख गर्दै संगठनभित्र अनुशासन, जिम्मेवारी र चेन अफ कमाण्डलाई कमजोर बनाउन नहुने बताएका छन्।

पुन मगरले क्यान्डिडेट क्लबमा देखिएको अत्यधिक महत्त्वाकांक्षाको प्रसङ्ग उठाउँदै राजनीतिक आकांक्षा राख्नु स्वाभाविक भए पनि त्यसका नाममा संगठनात्मक पद्धति, जिम्मेवारी र अनुशासनलाई बेवास्ता गर्न नहुने धारणा अघि सारेका छन्।

उनका अनुसार रास्वपाको राजनीतिक उद्देश्य केवल सत्ता प्राप्ति वा नेतृत्व परिवर्तनमा सीमित छैन। पार्टीले विधिको शासन, सुशासन र लोककल्याणकारी राज्य स्थापनाको लक्ष्य लिएको अवस्थामा त्यसको सुरुवात पार्टीको आन्तरिक संरचना र नेतृत्वको कार्यशैलीबाटै हुनुपर्छ।

राजनीतिक दलमा महत्त्वाकांक्षा र प्रतिस्पर्धा आवश्यक भए पनि ती संगठनको विधि र प्रक्रियाभित्र रहेर हुनुपर्ने उनको तर्क छ। अनुशासन, जिम्मेवारी र नेतृत्वको आदेश शृङ्खलालाई कमजोर बनाउँदैमा नयाँ राजनीतिक संस्कार स्थापित हुन नसक्ने उनको आशय छ।

रास्वपाले पुराना राजनीतिक दलभन्दा फरक राजनीतिक अभ्यास र संस्कार स्थापित गर्ने दाबी गर्दै आएको छ। त्यसैले पार्टीभित्रका नेता तथा कार्यकर्ताले पनि व्यक्तिगत स्वार्थ र पदको आकांक्षाभन्दा संगठनको उद्देश्य, जिम्मेवारी र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

पुन मगरको यो धारणाले रास्वपाभित्र युवा नेतृत्वको महत्त्वाकांक्षा, संगठनात्मक अनुशासन र जिम्मेवारीको सीमाबारे बहसलाई थप सान्दर्भिक बनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend