काठमाडौं । महाराजगंजस्थित मेरिडियन मल्टी स्पेसियालिटी पोलिक्लिनिक प्रा.लि.को तेस्रो वार्षिक साधारणसभा (एजीएम) अध्यक्ष देवान राईको सभापतित्वमा आइतबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको संस्थाले साधारणसभामार्फत आफ्नो संस्थागत प्रगति, सेवा विस्तार तथा आगामी कार्यदिशाबारे समीक्षा गरेको जनाएको छ।
सन् २०२४ मा तत्कालीन मेरिडियन हेल्थ केयर सेन्टर प्रा.लि.लाई रूपान्तरण गरी स्थापना भएको मेरिडियन मल्टी स्पेसियालिटी पोलिक्लिनिकले सन् २००२ देखि समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको अनुभव र विशेषज्ञतालाई निरन्तरता दिँदै आएको छ।
स्वास्थ्य सेवा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेको यस संस्थाले बिरामीको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दै आएको छ। रोगको पहिचान र उपचारमा मात्र सीमित नभई व्यक्तिको समग्र स्वास्थ्य तथा स्वस्थ जीवनशैलीलाई समेत प्राथमिकता दिने संस्थाको दृष्टिकोण रहेको छ।
पोलिक्लिनिकमा २० जनाभन्दा बढी अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोली कार्यरत छ। आधुनिक स्वास्थ्य सेवा पूर्वाधार तथा अत्याधुनिक चिकित्सा उपकरणबाट सुसज्जित संस्थाले विभिन्न विधाका विशेषज्ञ चिकित्सकमार्फत सर्वसुलभ, सर्वाङ्गीण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
संस्थाका अध्यक्ष देवान राईका अनुसार मेरिडियन हेल्थ केयर सेन्टरबाट मेरिडियन मल्टी स्पेसियालिटी पोलिक्लिनिक प्रा.लि.का रूपमा भएको रूपान्तरण संस्थाको संस्थागत क्षमता सुदृढ बनाउने र स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने उद्देश्यसँग सम्बन्धित छ। स्थापित चिकित्सकीय टोलीको अनुभव र विशेषज्ञतालाई कायम राख्दै थप व्यवस्थित तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा संस्था अघि बढिरहेको उहाँले बताउनुभयो।
तेस्रो वार्षिक साधारणसभाले संस्थाको हालसम्मको प्रगतिको समीक्षा गर्नुका साथै व्यावसायिक स्वास्थ्य सेवा व्यवस्थापनलाई थप सुदृढ बनाउने र बिरामीलाई प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धतालाई पुनः जोड दिएको छ।
समयसँगै नागरिकका स्वास्थ्य आवश्यकता र अपेक्षाहरू परिवर्तन हुँदै गइरहेको सन्दर्भमा अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक पूर्वाधार र गुणस्तरीय सेवामार्फत थप पहुँचयोग्य, उत्तरदायी तथा बिरामीमैत्री स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुर्याउने लक्ष्य पोलिक्लिनिकले लिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend