काठमाडौं । आवर ओन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित नयाँबजार मल्टिभेन्यु पार्टी प्यालेसमा शनिबार आयोजित सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र अनुमानित बजेट छलफलसहित पारित गरेको छ।
संस्थाका अध्यक्ष उपेन्द्र कुमार खनालको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो।
त्यसैगरी, लेखापरीक्षकबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नगद प्रवाह, आय–व्यय, नाफा–नोक्सान हिसाब तथा वासलातसहितको लेखापरीक्षण प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ। लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदनमाथि समेत छलफल गरी अनुमोदन गरिएको थियो।

सभामा कोषाध्यक्ष सुनिल केसीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित कार्यक्रम र अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको संस्थाले जनाएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। यसैगरी निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण, निक्षेप संकलन तथा कर्जा प्रवाहको सीमा निर्धारण र संस्थाको कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको छ।
साधारण सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोकर्ण प्रसाद सिटौलालाई चयन गरेको छ। समितिका अन्य पदाधिकारी तथा सदस्यहरू भने यथावत् रहेका छन्। साथै साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यहरूमध्येबाट प्रतिनिधि तोक्ने निर्णयसमेत गरिएको छ।
संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गर्दै सम्पन्न सभाले सहकारीको संस्थागत विकास, वित्तीय अनुशासन र सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend