काठमाडौं।सप्तगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रमोद कुमार कार्कीको सभापतित्वमा सम्पन्न सभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न आर्थिक प्रतिवेदनसहित आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ।
सभामा सदस्य गणेशबहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अध्यक्ष कार्कीले सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझाव तथा निर्देशनसहित पारित गरिएको थियो। त्यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पनि सभाले पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब, कोषको बाँडफाँट, लाभांश वितरण तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल गरी स्वीकृत गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा सल्लाहकारहरूको बैठक भत्ता तथा सुविधासम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ। निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने शेयरधनीको प्रतिनिधि तोक्ने प्रस्ताव पनि पारित भएको छ। सभाले प्रस्तुत कार्यसूचीका सबै प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरेको हो।
अध्यक्ष कार्कीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको कर्जा लगानीमा सामान्य कमी आएको छ। आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल कर्जा लगानी २९ करोड ४३ लाख २२ हजार ७३४ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा २० लाख ८३ हजार १८३ रुपैयाँले घटेर कुल बाँकी कर्जा २९ करोड २२ लाख ३९ हजार ५५१ रुपैयाँ कायम भएको छ।
नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस), नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेका निर्देशन तथा मापदण्डअनुसार कर्जाको वर्गीकरण गर्दा कर्जामा भएको क्षयीकरण रकम ४ करोड २१ लाख ९८ हजार ९३८ रुपैयाँले न्यून भएको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार समायोजित कुल कर्जा रकम २५ करोड ४० लाख ६१३ रुपैयाँ कायम भएको छ।

प्रतिवेदनमा गत आर्थिक वर्षदेखि नेपाल वित्तीय प्रतिवेदन मानअन्तर्गत साना तथा मझौला संस्थाका लागि निर्धारित मापदण्ड (NFRS for SMEs) अनिवार्य रूपमा लागू भएको उल्लेख छ। सोही व्यवस्थाअनुसार यस आर्थिक वर्षमा संस्थाको कुल ब्याज आम्दानी ४ करोड ४१ लाख ३ हजार ९६८ रुपैयाँ रहे पनि १ करोड ९ लाख ५९ हजार ९५० रुपैयाँ ब्याज रकम समायोजन गरिएको छ। समायोजनपछि संस्थाको खुद कर्जा ब्याज आम्दानी ३ करोड ३१ लाख ४४ हजार १८ रुपैयाँ कायम भएको अध्यक्ष कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले वित्तीय प्रतिवेदन प्रणालीअनुसार कारोबारको लेखाङ्कन तथा कर्जा व्यवस्थापनलाई व्यवस्थित गर्दै आएको प्रतिवेदनले देखाएको छ। साधारण सभाले संस्थाको आगामी कार्यदिशा, वित्तीय अवस्था र व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend