काठमाडौं। अखण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सँस्थाका अध्यक्ष दामोदर लम्सालको सभापतित्वमा शनिबार ( १४ कार्तिक, २०८३) सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष प्रमोद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले सँस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
उक्त साधारणसभामा अध्यक्ष लम्सालले सँस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष ईन्दिरा अधिकारी कोइरालाले वित्तीय प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गणेश प्रसाद ढकालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणमाथि छलफल गरिएको थियो।
समीक्षा आर्थिक वर्ष २०८२/८३ मा संस्थाको शेयर पुँजी रु. ४,५४,५५,५००/- र कुल सम्पत्ति तथा दायित्व रू. ३२,१४,९०,१६५.४५/- रहेको छ। संस्थाले यस वर्ष रु ७,२९,१५८.६७/- कुल बचत गरेको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश पारित गर्ने विषय, आर्थिक वर्ष २०८३/८४ को अनुमानित आयव्यय विवरण तथा वार्षिक नीति र कार्यक्रममाथि छलफल गरिएको थियो। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सदस्य चयन र विविध विषयमा समेत छलफल भएको थियो।
संस्थाको सञ्चालक समितिको २०८३ भदौ ८ गते बसेको ६४८औं बैठकको निर्णयअनुसार आयोजना गरिएको साधारण सभामा सदस्यहरूको सहभागितामा संस्थाको आर्थिक तथा संस्थागत गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend