सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न

दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न

        भारतले आतङ्कवाद अन्त्यमा अगुवाइ गर्नुपर्छ : अध्यक्ष यादव

२५ साउन,काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले दक्षिण एसियामा आतङ्कवाद अन्त्यका लागि भारतले अग्रसर भूमिका लिनुपर्ने बताएका छन्। नेपाल–भारत विकास मञ्चले आइतबार आयोजना गरेको ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सार्कजस्तो क्षेत्रीय संगठनको पुनर्जीवनका लागि पनि भारतको नेतृत्व अपरिहार्य रहेको बताए।

अध्यक्ष यादवका अनुसार आतङ्कवादलाई कुनै पनि वाद, राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनसँग जोडेर व्याख्या गर्नु गलत हुन्छ, किनकि यसको स्वरूप सदैव अमानवीय र मानवविरोधी हुन्छ। “दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,” उनले स्पष्ट पारे।

यादवले आतङ्कवादकै कारण सार्क संगठन निष्क्रिय जस्तो अवस्थामा पुगेको उल्लेख गर्दै, यसले पाकिस्तान र अफगानिस्तानमा गरिबी र बेरोजगारी अझ बढाएको बताए। उनका अनुसार क्षेत्रीय शान्ति र समृद्धिका लागि सबै मुलुकले सहकार्य गर्दै भारतको नेतृत्वमा आतङ्कवाद उन्मूलनको साझा पहल गर्नु अपरिहार्य छ।

आतंकवाद जटिल राजनीतिक–सामाजिक समस्या हो : वरिष्ठ अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आतंकवादलाई केवल सुरक्षा चुनौतीको रूपमा मात्र नहेरी राजनीतिक, सामाजिक, आर्थिक र भूराजनीतिक आयामसँग जोडिएको जटिल समस्या भनेर वर्णन गरेका छन्।   विचार गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनले अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्सजस्ता दक्षिण एसियाली मुलुकहरू क्रस–बोर्डर आतंकवाद, पृथकतावादी आन्दोलन, धार्मिक कट्टरपन्थ र राज्य प्रायोजित गतिविधिबाट प्रभावित भएको बताए।

उनका अनुसार यो समस्या प्रायः छिमेकी मुलुकको भूप्रदेशबाट योजना, वित्तीय सहयोग र कार्यान्वयनमार्फत अघि बढ्ने गरेको पाइन्छ। आतंकवादका कारण मानवीय क्षति, आर्थिक अवरोध, सामाजिक असन्तुलन र क्षेत्रीय अस्थिरता तीव्र भएको उनले उल्लेख गरे। त्रिपाठीले सार्कको १९८७ को आतंकवाद दमनसम्बन्धी महासन्धि र २००४ को अतिरिक्त प्रोटोकल, संयुक्त राष्ट्रसंघको १३७३ नम्बरको सुरक्षा परिषद् प्रस्ताव, अन्तर्राष्ट्रिय आतंकवादविरुद्धका सन्धि तथा जैविक र आणविक हतियार रोकथामसम्बन्धी प्रबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

क्षेत्रीय प्रतिस्पर्धा र आपसी अविश्वासले सहकार्यमा अवरोध पु¥याएको उल्लेख गर्दै उनले कानुनी, आर्थिक र शैक्षिक क्षेत्रमा सुधार, सीमापार सूचना आदान–प्रदान, र कट्टरपन्थीकरण रोक्न युवामुखी कार्यक्रम सञ्चालन गर्न अपरिहार्य रहेको बताए।

दक्षिण एसियाली स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनुपर्छ : नेता रिजाल

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री मिनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य भएको बताएका छन्।   विचार गोष्ठीमा बोल्दै उनले देशभित्रको राजनीतिक घटनालाई आतङ्कवादसँग जोडेर व्याख्या गर्नु गलत हुने उल्लेख गर्दै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहको रूपमा परिभाषित गरे।

रिजालले रामशरण महत परराष्ट्रमन्त्री रहेका बेला सार्क सम्मेलनको तयारी भइरहेको समयमा जहाज अपहरणको घटनाका कारण सम्मेलन स्थगित भएको उदाहरण दिँदै आतङ्कवादले क्षेत्रीय सहयोगमा गम्भीर असर पार्ने बताए। उनले भारतमाथि हुने कुनै पनि आतङ्क वा सुरक्षा आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै, “भारतको लागि मात्र होइन, कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन दिइँदैन,” भने।

भारत र नेपालको सम्बन्धलाई अद्वितीय भन्दै उनले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए। साथै, भारत–चीन सम्बन्धमा कटुता बढे नेपालका विकास निर्माणदेखि अन्य क्षेत्रमा प्रतिकूल असर पर्ने चेतावनी दिँदै, “भारत र चीनबीचको सम्बन्ध राम्रो भए क्रस–बोर्डर आतङ्कवाद समाधानमा टेवा पुग्छ,” भने। रिजालका अनुसार नेपालसँग भारत र चीन दुवैसँग आ–आफ्नै खालको महत्त्वपूर्ण सम्बन्ध रहँदै आएको छ। नेपाल–भारत विकास मञ्चका अध्यक्ष रामकिशोर सिंहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend