सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बजार सानो, मिडिया धेरै: पत्रकारिताको दुरावस्था

बजार सानो, मिडिया धेरै: पत्रकारिताको दुरावस्था

आरपी गैरे,

२० साउन,काठमाडौं । पत्रकारिता आफैंमा एक जिम्मेवारीपूर्ण, संवेदनशील र जोखिमयुक्त पेशा हो, जुन सधैं सत्य खोज्न र जनताका आवाज बुलन्द गर्न अग्रपंक्तिमा खटिन्छ । तर दुर्भाग्यवश, नेपालमा यो पवित्र पेशा पछिल्ला वर्षहरूमा थप चुनौती र अन्यायको भुमरीमा फसेको छ । विशेषगरी श्रमजीवी पत्रकारहरूको अवस्था अत्यन्तै नाजुक बनेको छ । न्यून तलब, अनियमित भत्ता र सुरक्षित रोजगारीको अभावले गर्दा उनीहरू आफ्नो श्रमको उचित मूल्य पाउनबाट वञ्चित भइरहेका छन् । राजधानीको महँगो जीवनशैलीमै जब पत्रकारले महिनाको कोठा भाडा तिर्न सक्दैनन्, तब यो पेशाको वास्तविक पीडा बुझ्न कठिन हुँदैन ।

बढ्दो सञ्चारमाध्यमसँगै प्रतिस्पर्धा पनि चरम सीमामा पुगेको छ । एकातर्फ डिजिटल मिडियाको बाढी आएको छ भने अर्कातर्फ बजार भने अत्यन्त सानो छ । बजारको आकार सानो हुँदा विज्ञापनको आम्दानी सीमित हुन्छ, जसको सीधा असर पत्रकारको तलब, सुविधा र पेशागत सुरक्षामा पर्छ । परिणामस्वरूप, धेरै सञ्चारमाध्यम टिक्न संघर्षरत छन्, र केही सञ्चारगृह त पत्रकारको श्रम शोषण गरेर मात्र अस्तित्व टिकाइरहेका छन् । यहाँसम्म कि, पत्रकारिता गर्ने निहुँमा कतिपय मिडियाहरू ‘व्यक्तिगत स्वार्थ पूर्ति’ र ‘पावर गेम’ को माध्यम बन्दै गएका छन्, जसले यो पेशाको मर्यादा गम्भीर रूपमा खल्बल्याएको छ ।

यति हुँदाहुँदै पनि पत्रकारहरू निरन्तर जनताको आवाज बन्न संघर्षरत छन् । जोखिम मोलेर, राज्य र शक्तिकेन्द्रविरुद्ध कलम चलाएर, सत्तासीनको आलोचना गरेर पनि उनीहरू आफूलाई सिद्धान्तमा अडाइरहेका छन् । उनीहरूको यही समर्पण नै लोकतन्त्रको मेरुदण्ड हो । तर अहिले पत्रकारिता भित्र विकृति र विसङ्गति पनि तीव्र गतिमा बढ्दो छ । समाचारलाई तथ्यभन्दा पनि सनसनी र भीड तान्ने साधन बनाउने प्रवृत्तिले विश्वसनीयता गुमाउँदैछ । गलत नियतले सञ्चालित केही मिडियाहरूले पेशामा लागेको सबैलाई नै बदनाम गर्ने काम गरेका छन्, जसलाई तत्काल रोक्न न सके पत्रकारिता नै संकटमा पर्न सक्छ ।

अब समय आएको छ, जब सञ्चारसम्बन्धी नियामक निकाय, पत्रकार महासंघ र सरकार सबै मिलेर श्रमजीवी पत्रकारको अवस्था सुधार्न ठोस र प्रभावकारी कदम चाल्नुपर्छ । मिडिया हाउसहरूलाई श्रम ऐनको पूर्ण कार्यान्वयन गर्न बाध्य बनाउनुपर्छ, पत्रकारको श्रमको उचित मूल्य सुनिश्चित गरिनुपर्छ । साथै, पत्रकारिताको आडमा गलत धन्दा गर्ने प्रवृत्तिमाथि पनि कडा कारबाही हुनुपर्छ । पत्रकारिता लोकतन्त्रको चौथो अंग हो भने त्यसको मेरुदण्ड बलियो बनाउनु आजको पहिलो प्राथमिकता हुनुपर्छ । सत्य, न्याय र जनताको पक्षमा कलम चलाउने यो पेशालाई सम्मान, सुरक्षा र न्याय दिन नसक्ने समाज लोकतान्त्रिक हुनुको दाबी गर्न सक्दैन । त्यसैले अब ढिलो गर्नु हुँदैन—श्रमजीवी पत्रकारका आँसु पुछ्ने र उनीहरूलाई पुनः सम्मानित बनाउने वातावरण निर्माण गर्नु आजको सबैभन्दा जरुरी कार्य हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend