काठमाडौं २३ असोज। प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । उनले पत्रकार सम्मेलन गर्दैै आइतबार बिहान प्रतिनिधिसभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए । उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन् । सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ ।
नेता भुसाललाई माओवादीले आफ्नो भागमा परेको यो क्षेत्र छोड्ने बताइएको छ । नेता भुसालले चुनाव चिन्ह भने तय भएनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद पनि दिए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उनले केही खुलाएनन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग झण्डै दुई वर्षसम्म चलेको तिक्ततापूर्ण संघर्षलाई विराम लगाउँदै पूर्व उपमहासचिव घनश्याम भूसालले शनिबार पार्टी परित्यागको घोषणा समेत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend