काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार (कार्तिक १६ गते) काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण ब्याङ्क्वेट, थापागाउँमा कम्पनीका अध्यक्ष हरिप्रसाद पाण्डेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष पाण्डेले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गरी सभाले स्वीकृत गरेको छ ।
त्यसैगरी, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ ।
सभाले कम्पनीका सञ्चालकहरूको पारिश्रमिक घटाउने प्रस्ताव पनि पारित गरेको छ । साथै, बाँकी कार्यकालका लागि नियुक्त गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत गर्दै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायतका निर्णय गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend