समीर भण्डारी। काठमाडौं । नेपाली कविता प्रस्तुति सम्बन्धि टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ ।
नेपाली भाषाका कविहरुको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ घोषणा भएको हो। कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् ।
भाग लिन इच्छुक कविहरुले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।
हरेक हप्ता एक जना प्रतिष्पर्धी बाहिरिने र अन्तिममा एकजना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ । प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त छन्। कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन्।

कार्यक्रममा अभिनेता पन्तले आफूले कुनै समय धेरै कविताहरुको रचना गरेको उल्लेख गर्दै अहिले रचना गर्न छोडेकोमा पछुतो लागेको बताए । कवि विप्लव प्रतिकले कवितारुपी मन्त्र द पोइट आइडलमार्फत नेपाली समाजमा कुनै न कुनै रुपले फैलिने विश्वास व्यक्त गरे । निर्देशक एवं वरिष्ठ रंगकर्मी बरालले कविता शब्दहरुको साम्राज्य भएको बताए । कवि उपेन्द्र सुब्बाले नेपाली समाजले कवितालाई धेरै सम्मान गरेको उल्लेख गर्दै साहित्यको जति पुरस्कार अन्य कुनैपनि विधामा नरहेको बताए ।
कार्यक्रममा अभिनेत्री पन्तले काँचो पनको मिठास भर्न आफूलाई निर्णायकमा राखेको हुनसक्ने बताइन् । सञ्चारकर्मी टिकाराम यात्रीले साहित्य र सिर्जनाको क्षेत्रमा द पोइट आइडल मौलिक अभियानको प्रस्थान बिन्दु हुनसक्नुपर्ने बताए।
कार्यक्रममा भाग लिन इच्छुकहरुले भदौ २६ गतेदेखि विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन पाउनेछन्। कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउनेछन् भने यसको प्रसारण एपी वान टेलिभिजनबाट हुनेछ। द पोयट आइडल को घोषणा ,नेपाली कविताको पहिलो रियलिटी शो
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend