दाङ १३ भदौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रूपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् ।
एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा मन्त्री चौधरीले यस्तो बताएका हुन । उनले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’
स्थानीय चुनावबाट एमाले ‘रेड जोन’ मा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टीबाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको उनले बताए । चौधरीले भने, ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वोच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ ।’
मन्त्री चौधरीले विद्रोह गर्नु भनेको कमजोर हुनु वा एक्लो हुनु नभएर दिनदिनै फैलिदै जानु अथवा शक्तिशाली बन्नु रहेको पनि बताए ।
थोरै मान्छेहरूले मात्र विद्रोह गर्ने र विद्रोह गर्नेहरुले इतिहास रच्ने बताउँदै उनले अगाडि भने, ‘हरेक युगमा विद्रोह भएको छ । दास युगमा विद्रोह भयो । सामन्ती युगमा पनि केहीले विद्रोह गरे । त्यसैले आज पुँजीवादी युग प्रारम्भ भएको छ । यो युगमा पनि फेरि विद्रोह अवस्य हुनेछ । यसरी विद्रोहबाट नै समाज परिवर्तन हुदै अगाडि बढ्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend